तनहुँमा एकल महिलाद्वारा गाउँमै ११ जनालाई रोजगारीको व्यवस्था
३ भदाै, तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित मोचाबारीकी एकल महिला सेतीमाया विश्वकर्माले गाउँका ११ एकल महिलालाई रोजगारी दिनुभएको छ । २८ वर्षको उमेरमा एकल महिला बन्नुभएकी सेतीमायाले शिव नर्सरी फार्म स्थापना गरेर उनीहरुलाई गाउँमै रोजगारीको व्यवस्था गर्नुुभएको हो ।
सेतीमायाले आफ्नै नाममा रहेको करीब तीन रोपनी क्षेत्रफल जग्गामा नर्सरी स्थापना गरी कफी, आँप, कागती, एभोकाडो (नौनी फल) लगायतका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । “करीब तीन वर्षको अवधिमा फल दिन शुरु गर्ने जातका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “प्रतिबिरुवा रु २०० मा बिक्री गर्छु ।”
कफीका ४० हजार बोटमध्ये १० हजार बिक्री भइसकेका छन । उत्पादन गरेको आठ हजार एभोकाडोका बिरुवा सकिएका छन् भने आँप र कागतीका केही बिरुवा बाँकी छन् । एकल महिलाले नर्सरीमा बिरुवा उत्पादनका लागि पोलिब्यागमा माटो भर्ने, कफीका बिरुवा रोप्ने, माटो सङ्कलन गर्नेलगायतका काम गर्ने गरेका सञ्चालक सेतीमायाले बताउनुभयो ।
विसं २०७६ वैशाखदेखि नर्सरी स्थापना गर्नुभएकी उहाँले विभिन्न जातका बिरुवा उत्पादन गरेर रोजगारी प्रदान गर्नुका साथै आफ्नो घरखर्च राम्रैसँग चलाउँदै आउनुभएको छ । शुरुमा रु एक लाखबाट नर्सरी स्थापना गर्नुभएकी उहाँले हालसम्म करीब रु तीन लाख खर्च गरिसकेको बताउनुभयो ।
टिमुर, शितल चिनीलगायतका बिरुवा पनि उत्पादन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब ५० हजार बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरी रहेकाले अबको पालोमा बिरुवा उत्पादनमा वृद्धि गर्ने योजना बनाएको छु ।” विभिन्न स्थानमा पाइने बीउ नर्सरीसम्म ल्याइदिन अर्का नर्सरी सञ्चालक पुष्कर विश्वकर्माले सहयोग गर्दै आउनुभएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : August 20, 2019 at 9:47 am









