७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु

२ भदाै,कावासाेती । गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो ।

नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा लिइएको छ । भारतसँग जोडिने त्रिवेणी नाका र चीनसँग जोडिने कोरला नाका समग्र देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण हुने सरकारले बताउँदै आएको छ । यी दुई नाकालाई चीन र भारतलाई जोड्ने सहज नाकाको रुपमा हेरिएकाले पनि त्रिवेणी नाकामा जाँचपास शुरु हुनु महत्वपूर्ण कार्य भएको यहाँका उद्योगी व्यापारीले बताएका छन् ।

त्रिवेणी नाकालाई छोटी भन्सारको रुपमा स्तरोन्नति गरी ‘जाँचपास’ शुरु गरिएसँगै अब यस नाकामा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । त्रिवेणी नाकामा ‘जाँचपास’ शुरु गरिएपछि यस क्षेत्रका उद्योगी, व्यापारी, स्थानीयसमेत खुशी भएका छन् । भन्सारको स्तरोन्नति र ‘जाँचपास’ शुरु भएसँगै चहलपहल बढ्ने र विकासले तीव्रता पाउने विश्वास उनीहरुको रहेको छ । “हामीलाई यो मूल भन्सार हुन्छ र यहाँ विकासको सम्भावना बढ्छ भन्ने आशा जागेको छ”, विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीका स्थानीय विनयकुमार तेलीले भन्नुभयो, “लामो समयसम्म विकास हुन नसकेको यस क्षेत्रको मुहार फेरिन्छ भन्ने छ ।

आइतबार प्रतिनिधिसभा सदस्य तिलक महतले त्रिवेणी छोटी भन्सारबाट भन्सार ‘जाँचपास’को शुभारम्भ गर्नुभएको हो । उहाँले गण्डकी प्रदेशको मुख्य नाकासमेत रहेकाले चाँडै मूल भन्सार बनाउतर्फ सरकार लागि पर्ने बताउनुभयो । हाल एक पटकमा रु २५ हजारसम्मका सामानको भन्सार गर्न सकिने गरी ‘जाँचपास’ सेवा शुरु गरिएको हो ।

छोटी भन्सारलाई धेरैजसो स्थानमा रु १० हजारसम्मको मालवस्तुको ‘जाँचपास’ गर्ने सीमा निर्धारण गरिने गरिएको भए पनि त्रिवेणी भन्सारलाई रु २५ हजारसम्मका सामानको ‘जाँचपास’ गर्ने अधिकार प्रदान गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताउनुभयो । त्रिवेणी छोटी भन्सार हाललाई महेशपुर भन्सार कार्यालयको मातहतमा रहने र महेशपुर भन्सारकै कर्मचारीले पालैपालो हेर्ने व्यवस्था मिलाएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति : August 19, 2019 at 10:07 am