३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

२९ कात्तिक, काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ । ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ । यस कन्सर्टका लागि तोकिएका सहुलियत दरका टिकट निकैअघि बिक्री भइसकेका छन् । अन्य टिकट पनि थोरै मात्र बाँकी छन् ।

दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मङ्सिर ५ गते शनिबार हुनेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो । त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखतिर लाग्नेछ । म्याग्दीको बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ मा दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ ।

चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मङ्सिर १२ गते शनिबार हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ । नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिनको अपराह्न ४ बजे ढोका खुला हुनेछन् ।

मुलुकभित्र अनि बाहिरका ठूला सहरहरूमा भव्य रूपमा प्रस्तुत हुँदै आएको नेपथ्यले साना सहर र बस्तीमा बसोबास गर्ने आफ्ना दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकतामा दिँदै आएको यस यात्राले थप पुष्टि गर्नेछ । यो पाला प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक सबै ठाउँमा ब्यान्ड पहिलो पटक उपस्थित हुन लागेको हो । कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन् ।

आफूलाई विभिन्न माध्यमबाट सन्देश पठाइरहने यी स्थानका दर्शकसामु उभिन आतुर रहेको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ बताउँछन् । ‘मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ । यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू सङ्कलन गरिएका हुन्,’ उनी भन्छन्, ‘त्यसमाथि यस्ता बस्तीहरूमा प्रस्तुत हुँदा दर्शकबाट मैले अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु ।’

नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ ब्यान्डलाई विश्वकै सुविधासम्पन्न सहरदेखि साना बस्तीसम्म उस्तै स्वादमा प्रस्तुत गर्ने चुनौतीलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँछन् । उनी भन्छन्, ‘कलाकारबाहेक प्राविधिकदेखि व्यवस्थापन सम्मको हाम्रो ठूलो टिमले त्यो स्तर कायम राख्नेछ ।’

प्रकाशित मिति : November 15, 2026 at 5:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/