१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

त्रिभुवन विमानस्थलमा अर्को जाहाज ठूलो दुर्घटनाबाट जोगियो, यात्रुको सकुशल उद्धार

७ बैशाख, काठमाडौँ । त्रिभुवन विमानस्थलमा फेरि अर्को एउटा जाहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहीबार राति मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । उक्त विमान काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको थियो ।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटना भने टरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । उनका अनुसार राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो, मोडिएर उत्तरतर्फ लाग्ने बेलामा विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको हो ।

सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल उद्धार गरेका छन । यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको मृत्यु भएको थियो । तस्बीरः पत्रकार प्रकाश अास्थाको फेसबुक वालबाट ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०६:१०