१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राष्ट्रिय समाचार समितिमा अनियमितताको आरोप, कामचोर कर्मचारीलाई अध्यक्षको संरक्षण

६ वैशाख, काठमाडौँ । राज्यको स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) मा अध्यक्षको चार वर्षे कार्यकाल सकिन लाग्दा कुलचन्द्र वाग्लेले र उनी निकटहरुले अनियमितता र एकपक्षीय शैलीलाई बढावा दिएका छन् । आगामी जेठ २८ मा अवधि सकिनुअघि आफ्नो स्वार्थपूर्ण काम सकाउने गरी राससका अध्यक्ष वाग्ले लागेका छन् भने महाप्रबन्धक ओपेन्द्र शर्माले उनको खेल असफल बनाउने नीति लिएका छन् ।

अध्यक्ष वाग्लेले आफ्ना कमजोरी र स्वार्थबारे सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सुइको पाएपछि बचाउको तानाबाना पनि बुनेका छन् । दुई साता अघि राससको भ्रमणमा पुगेर राज्यमन्त्री बास्कोटाले जथाभावी भर्ती र अनियमितता बन्द गर्न निर्देशन दिएपछि वाग्ले र उनी निकटकाहरु थर्कमान भएका छन् भने उनीहरुले जेजति काम भयो सबै सामूहिकरुपमा भएकाले गल्ती भेटिए महाप्रबन्धकलाई पनि मुछ्नुपर्ने जनाउन थालेका छन् । अध्यक्ष वाग्लेको नेतृत्वमा राससको समाचारको गुणस्तर बढाउने भन्दा पनि नयाँ भवन र विभिन्न खरिदमा बढी प्राथमिकता दिएको पाइएपछि मन्त्रालयले ठोस कार्ययोजना ल्याउन निर्देशन दिएको छ ।

वाग्ले र उनी निकटको लेखा प्रशासनले केन्द्रीय कार्यालयको भवन नयाँ बनाउने क्रममा पुराना इट्टा र सामग्रीहरु कौडीको मूल्यमा बेचेको, नयाँ ल्याबटप खरिदमा प्रक्रिया मिची अनियमितता गरेको, इन्धन र गाडी मर्मतमा व्यापक खर्च गरेको, अंग्रेजी शाखाका केही कर्मचारीले अन्य संस्थामा काम गरेर राससमा कम समय दिएको र केहीले लामो समयदेखि स्विकृत नलिई विदा लिएको, प्रदेशहरुमा अधिकृत तहभन्दा तल्लोस्तरका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिएको विषयमा वाग्लले जवाफ दिन सकेका छैनन् ।

महाप्रबन्धकलाई कुनै अधिकार र जानकारी नदिई वाग्लेले गरेको कामका बारेमा शर्माले जिम्मेवारी नलिने भएपछि संस्थाको आगामी दिनमा अन्योल बढ्ने खतरा देखिएको छ । दैनिकीसँग कुरा गर्दै अध्यक्ष वाग्लेले भने आफूले कमजोरी गरेको भेटिए कारबाही भोग्न तयार रहेको बताएका छन ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार २०:०६