नेपाली युवा र अन्तर्राट्रिय युवा दिवस
–तिलोत्तम पौडेल
२२ साउन, काठमाडाैँ । सन् २००० बाट विश्वमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएपनि नेपालमा सन् २००४ मा सामाजिक संघसंस्थाले अगष्ट १२ मा मनाउन थालेको पाइन्छ । पछिल्ला दिनहरुमा यसलाई सरकारको नेतृत्वमा सबै नागरिक संघ संगठनको सहकार्यमा युवा दिवस मनाउन थालिएको छ । अगष्ट १२ नजिकिदै गर्दा विभिन्न कार्यक्रमको तयारी भईरहेको छ । अर्कोतर्फ आ.व. २०७५÷०७६ मा ७८३ नेपाली युवाले विदेशमा ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । २०७५÷०७६ मा ५ लाख ८ हजार विदेसिएको गत आ.व.मा भने ०७४÷०७५ मा ६ लाख १७ हजार चारसय सत्र विदेशिएको देखिन्छ ।
विदेश रोजगारीमा जानेको संख्या घटेपनि गुणस्तरीय शिक्षा प्राप्तीको लागि अन्य मूलुकहरुमा जाने संख्या घटेको छैन । यस वर्षको युवा दिवसको नारा “शिक्षामा रूपान्तरण, उद्यमशीलता र नवप्रर्वतन” भनिएको छ । दिगो विकास लक्ष्य, नेपाल सरकारका ऐन कानुन, संविधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार राज्यले युवाका निम्ति लगानी बढाउनु पर्ने देखिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय युवादिवस मनाउँदै गर्दा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले युवा दिवसको नारालाई व्यवहारमा लागु गर्न युवाहरुलाई स्वदेशमा काम गर्ने बस्ने र लगानी गर्ने समय सापेक्ष शिक्षा सहितको वातावरण बनाउन जरुरी छ ।

युवा भनेका वर्तमानका साझेदार र परिवर्तनका बाहक हुन् । युवाका सहभागित विना कुनै प्रकारका आर्थिक सामाजिक, राजनीतिक परिवर्तन सम्भव छैन । युवाहरुको विषयमा धेरै वहस र छलफलहरु हुने गर्छन् । राजनीतिक तथा सामाजिक आन्दोलनमा युवाहरुको योगदान र आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय युवा नीति २०७२ जारी भयो । सोही नीतिको आधारमा राष्ट्रिय युवा परिषद ऐन २०७२ जारी भयो । राष्ट्रिय युवा परिषद गठन भयो । नेपाली युवालाई सबल सक्षम, प्रतिस्पर्धी र आत्म निर्भर बनाउँदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत आधुनिक न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने दुर दृष्टि सहित युथभिजन २०१५–२०२५ बन्यो । २०७२।६।१९ गते मन्त्री परिषदको वैठकबाट युथ भिजनलाई स्वीकृति ग¥यो ।
जीवन उपयोगी शिक्षा, रोजगार स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका युवा विकासका क्षेत्रमा व्यापक लगानी गरी आम युवा सहभागिता सहकार्य र नेतृत्व विकास मार्फत २०२५ सम्म राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अतिकम विकसित राष्ट्रबाट दु्रत विकसित राष्ट्रमा पु¥याउन सक्षम जनशक्ति तयार गर्ने, दीर्घकालिन लक्ष्य राखेको थियो । गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनका पाँच आधार स्तम्भलाई सफल पार्ने सबै साधन स्रोत प्रयोग गर्ने, युवा नीतिले निर्दिष्ट गरेका नीति र कार्यनीतिहरुलाई कार्यन्वयन गर्ने, युवा क्षेत्रको विकासका मूल समस्या चुनौती र सम्भावना पहिचान गरी योजना र कार्यक्रम तय गर्ने ।
सरकारी, गैर सरकारी, निजी क्षेत्रसँग साझेदारी, सहकार्य गर्दै अन्तराष्ट्रिय विकास लक्ष्यलाई समेत जोड्दै सवल सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर युवा जनशक्ति तयार गर्ने उद्देश्य सहित युथ भिजन सार्वजनिक भएको थियो । विगतमा हामीसँग युवा नीति, युथभिजन, युवामन्त्रालय पनि थिएन तर पछिल्ला दिनहरुमा हामीले युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र यसलाई मार्गदर्शन गर्न थुप्रै कार्यविधि समेत छन् । सिङ्गो मूलुकले नयाँ संविधान सँगै झण्डै २० वर्ष पछि स्थानीय सरकार पाएको छ । नयाँ संरचनामा प्रदेश, सघीय र स्थानीय सरकार छ । त्यो पनि बहुमत प्राप्त स्थाईत्व भएको देखिन्छ । विगतको तुलनामा राष्ट्रिय युवा परिषद बने पश्चात युवा लक्षित कार्यक्रमलाई एकिकृत गर्ने प्रयास गरेको देखिन्छ ।
ग्रामिण युवा उद्यम कार्यक्रम, युवा लक्षित स्वरोजगार कार्यक्रम, युवा अनुभव आदानप्रदान कार्यक्रममा युवा सीप तथा नेतृत्व विकास कार्यक्रम, युवा प्रतिभा पहिचान तथा सम्मान, युवा नमूना संसद, सामाजिक सचेतनाका लागि युवा परिचालन, उद्यमशीलता र वितीय साक्षता, उद्यम पर्दशनी, रोजगार भेला लगायतका कार्यक्रम राष्ट्रिय युवा परिषदले गर्दै आएको छ । नेपाल सरकारको नीति कार्यक्रम मार्फत सामाजिक सुरक्षा कार्यक्रम, प्रधामन्त्री रोजगार कार्यक्रम, सके स्वदेशमा नै रोजगारको निम्ति पहल नभए पनि बाहिर जाँदा मर्यादित सुरक्षित न्यायिक वैदेशिक रोजगारको लगायतका थुपै्र कार्यक्रमहरु विभिन्न मन्त्रालयहरुका मार्फत सुरुवात भएको देखिन्छ ।
आजको भोलि सबै समस्या समाधान गर्न नसकेपनि बैदेशिक रोजगारमा जानेहरुको संख्या धैरै घटाउन सकिएको पाईएन । श्रमशक्ति सर्वेक्षण २०७५ अनुसार कूल जनसंख्याको ४० प्रतिशत युवा छन् । यो युवाहरुको जनसंख्याको लाम र श्रम उर्जावान युवा शक्तिहरु कामको लागि विदेशिएका छन् । त्यसको फाइदा हाम्रो देशले लिन सकिरहेको छैन । अध्ययन अनुसार नेपालमा श्रम गर्न सक्ने उमेरको जनसंख्या दुई करोड ७ लाख छ तर औपचारिक र अनौपचारिक क्षेत्रले ७० लाख ८६ हजारलाई मात्र रोजगार दिएको छ । बाँकी युवाहरु बाध्यता या रहरमा वैदेशिक रोजगार नै बनेको छ । प्रत्येक वर्षमा ५ लाख श्रमशक्ति बजारमा आउँछ ।
विदेशमा गएका युवाहरुको प्रत्येक दिन जस्तो वाकसमा लास, ह्वीलचियरमा विरामी, मानसिक समस्या, पारिवारिक विछोड, बालबालिका र अभिभावकको बीचमा भेटघाट, अनुभव आदान–प्रदानको अभाव, वैदेशिक रोजगारबाट प्राप्त रकम उत्पादनमूलक कार्यमा लगाउन नसक्नाले विभिन्न समस्याहरुबाट वैदेशिक रोजगारमा गएका व्यक्ति र परिवार पीडित प्रभावित छन् । यस वर्ष अन्तर्राष्ट्रिय दिवसले युवाहरुको क्षेत्रमा लगानी बढाउन तयार रोजगारी स्वदेशमा सिर्जना गर्न गुणस्तरीय शिक्षा प्राप्त गर्न थप गर्ने सन्दर्भमा वहस पैरवी गर्न जरुरी छ ।
अध्ययन गर्न, व्यापार व्यवसाय गर्न जाने र खुला सिमाना पार गर्दै भारत जानेहरुको संख्या एकिन छैन । समय सापेक्ष सीपमूलक शिक्षा, सुरक्षित लगानीको वातावरण, कम व्याजदरमा सजिलो तरिकाबाट ऋण प्रवाह, सहित युवाहरुको क्षेत्रमा विभिन्न मन्त्रालयसँग छरिएररहेको बजेटलाई एकिकृत गर्दै, उत्पादनमूलक कार्यमा प्रयोग गर्ने, देशमा नै कलकारखाना खोली सञ्चालन गर्ने, सरकारी, नीजि र सामाजिक क्षेत्र तथा अन्तर मन्त्रालयका बीचमा प्रभावकारी समन्वयात्मक भूमिका हुन सकेमा स्वदेशमा युवा बस्ने स्थिति बनाउन सके देश विकासमा युवाहरुले योगदान पु¥याउन सक्छन् । युवा सम्बन्धी संविधानमा भएको व्यवस्था ऐन, नीति नियम कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न सबैले ध्यान दिन सकेमा मात्र युवाहरुलाई स्वदेशमा स्वरोजगार बनाउन सकिन्छ र यस वर्षको अन्तर्राष्ट्रिय दिवसले सार्थकता पाउन सक्छ । सबैमा शुभकामना ।
प्रकाशित मिति : August 12, 2019 at 3:18 pm









