व्यापारी श्रेष्ठको हत्यामा संलग्न नेकपाका नेता गोविन्द बटालाई जन्मकैद
२९ जेठ, काठमाडाैँ । सर्वोच्च अदातलले काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको मुद्दामा नेपाली कम्युनिस्ट पार्टीका नेता गोविन्दबहादुर बटालालाई जन्मकैद हुने फैसला सुनाएको छ । बिहीबार सर्वोच्चले सफाई दिने आफ्नै फैसला पुनरावलोकन गर्दै सर्वोच्च अदालतले जन्म कैदको सजाय गरेको हो ।
सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले बटालालाई जन्म कैदको फैसला गरेको हो । यसअघि २०७७ साउनमा सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बटालालाई सफाइ दिने फैसला गरेको थियो ।
सर्वोच्चको उक्त फैसला चित्त नबुझेपछि महान्यायाधिवक्ताको कार्यालयमार्फत तत्कालीन सरकारले पुनरावलोकनका लागि निवेदन दिएको थियो। उक्त निवेदनमा तत्कालीन न्यायाधीशहरू दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले पुनरावलोकन गर्ने आदेश दिएका थिए ।

बिहीबारको इजलासले बटालालाई जन्म कैदको सजाय तोके पनि मुलुकी ऐन बमोजिम १० वर्ष कैद भुक्तान गर्नु पर्ने ठहर गरेको छ। ब्यापारी श्रेष्ठलाई २०६८ असार ६ गते काठमाडौँबाट अपहरण गरी चितवन पुर्याएर हत्या गरिएको थियो । यही मुद्दामा तत्कालीन माओवादी डिभिजन कमान्डर कालीबहादुर खाम पुर्पक्षका लागि कारागारमा छन्। अब बटाला पनि सम्भवत केही दिनमै पक्राउ परेर कारागार चलान हुनेछन ।
कोटेश्वरबाट १५ वैशाख २०६५ मा नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित् माओवादी लडाकुको क्याम्पमा पुर्याइएको थियो। श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी गरेको आरोपमा श्रेष्ठलाई कब्जामा लिइएको थियो। अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो।
प्रकाशित मिति : June 12, 2026 at 4:53 am









