कालिकाको विकासमा प्रतिबद्ध छुः गृहमन्त्री बादल
–शिशिर सिंखडा
५ बैशाख, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन तथा सम्मान कार्यक्रम आज गरिएको छ । केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा केन्द्र स्थापनामा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गृहमन्त्री राम बहादुर थापाले कालिका नगर भर्खरै मात्र स्थापना भएको नगरपालिका भएकोले यसको भौतिक एवम् अन्य विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

यस क्षेत्रकै महत्वपूर्ण अस्पतालको रुपमा विकास हुँदै गएको केन्द्रलाई स्तरोन्नतीको लागि आफ्नो तर्फबाट पहल गरिने समेत उनले बताए ।
यस क्षेत्रमा स्वास्थ्यका अतिरिक्त खानेपानी, सडक लगायतका हरेक समस्याहरु रहेकोले यसको क्रमशः हल गरिने समेत उनको भनाइ थियो । यस नगर क्षेत्रमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्न आफु र सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री थापाले यस नगरपालिकाको क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना गर्न आफुले सकारात्मक ढंगले काम अगाडि बढाएको समेत बताए । यस कालिका नगरको विकासको लागि सधैँ आफु लागिपर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।
गृहमन्त्री थापाले आज नै खैरहनी नगरपालिकामा संचालित क्रिकेट खेलको उद्घाटन गरेका थिए भने शक्तिखोर स्थित चर्तुमुखी मा.वि. मा विद्यार्थी भर्ना अभियानमा सरिक भई विद्यार्थीको भर्ना समेत गराएका थिए । त्यस्तै उनले जुटपानी प्रहरी चौकीको भवन शिलान्यास र पदमपुरमा नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई भेटघाट समेत गरेका थिए ।

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र भवन उद्घाटन तथा सम्मान कार्यक्रममा केन्द्रका संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष होम बहादुर गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समितिका अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश सभाका सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, केन्द्रका कार्यालय प्रमुख डा. श्रीनारायण यादव, सम्मानित व्यक्तित्वहरुको तर्फबाट डा. भोजराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रलाई सहयोग गर्ने व्यक्तिहरु सम्मानित
स्वास्थ्य केन्द्रको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री राम बहादुर थापाले सो कार्यक्रममा सम्मान गरेका थिए । सम्मानितहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा केन्द्रका पूर्व कार्यालय प्रमुख एवम् वरिष्ठ फिजिसियन तथा कन्सल्टेन्ट डा. भोजराज अधिकारी, पूर्व प्रमुख डा. विश्वबन्धु बगाले, पूर्व प्रमुख डा. सुनिल पन्त र मरणोपरान्त डा. हरिनाथ आचार्य रहेका थिए ।

त्यस्तै गरी व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु शितलकाजी श्रेष्ठ र शिव पौडेल, केन्द्रलाई भौतिक सामान सहयोग गर्ने मुनलाईट इङ्गलिस बोर्डिङ्ग स्कुलका डाइरेक्टर चित्र बहादुर रायमाझी, स्थानीय होम बहादुर थापा, लक्ष्मीनारायण चौलागाई, धु्रव रायमाझी, पूर्ण बहादुर वाईबा, सुभद्रा दाहाल, खेमलाल अधिकारी, कृष्ण प्रसाद दाहाल, तेज प्रसाद लामिछाने, बिनोद रेग्मी पनि सम्मानित भएका थिए । उनीहरुले केन्द्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाएका थिए ।
प्राथमिक केन्द्रको भौतिक तथा स्वास्थ्य अवस्था
स्वास्थ्य केन्द्रको गत २ वर्ष अगाडि भवन निर्माण सम्पन्न भई नयाँ भवनबाट हालको कालिका वडा नं. ६ खोलेसिमलमा स्वास्थ्य सेवा संचालन भईरहेको छ । १० कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रमा १ जना दरवन्दी सहित हाल ५ जना चिकित्सक सहित १९ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्थानीयहरुलाई स्वास्थ्य सेवा दिदैँ आएको छ ।
स्वास्थ्य बीमाका अतिरिक्त अन्य औषधी सुविधा सहितको फार्मेसी सेवा, २४ घण्टे आकस्मिक सेवा र प्रसुति सेवा सहितका सेवाहरु अस्पतालले उपलब्ध गराएको छ । विभिन्न खोप सेवा, विभिन्न रोगको परीक्षण गर्ने प्रयोगशाला सुविधा, इसिजी सेवा र हरेक हप्ता पाठेघरको मुखको क्यान्सर परीक्षण गरी उपचार सेवा समेत यसै केन्द्रबाट उपलब्ध गराइएको केन्द्रका डा. श्रीनारायण यादवले जानकारी दिए । सो १५ शैयाको स्वास्थ्य केन्द्रबाट हाल कालिका नगरपालिकाका अतिरिक्त रत्ननगर र इच्छाकामनाका स्थानीयवासीहरुले समेत स्वास्थ्य सेवा लिँदै आएका छन् ।
प्रकाशित मिति : 18:08









