कांग्रेसको नेतृत्वमा जिसस ओखलढुंगामा करोडौँको त्रिपाल र तारजाली गायव, संयोजकविरूद्ध उजुरी
१८ साउन, ओखलढुंगा । नेपाली कांग्रेसको नेतृत्वमा जिसस ओखलढुंगामा करोडौँको तारजाली र त्रिपाल हिनामिना भएको छ । नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध करोडौँको तारजाली र त्रिपाल हिनामिना भएको भन्दै उजुरी नै गरेको छ । कांग्रेसको नेतृत्वमा रहेको समितिले विभिन्न स्थानमा रहेका भण्डारण कक्षबाट विपद्का लागि राखिएका सामग्री आफूखुसी हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको हो ।
नेकपाका अध्यक्ष तथा प्रदेश सभाका अर्थ समितिका सभापति मोहनकुमार खड्काले प्रशासनमा अनियमितता गरेको भन्दै उजुरी गरेका छन । नेकपाको सचिवालय बैठकपछि जिल्ला अध्यक्षको हैसियतले उनले शुक्रबार उजुरी दर्ता गराएका हुन । यसअघि पनि समन्वय समितिका पदाधिकारीहरुको मिलेमतोमा करोडौँको तारजाली हिनामिना भएको भन्दै सार्वजनिक कार्यक्रममा छानबिनको माग हुँदै छ ।

करोडौँ पर्ने जनताको सम्पति व्यक्तिगत हिसाबले दुरुपयोग भएको र विपदका बेला दिन राखिएका त्रिपाल समेत हराएपछि उजुरी गर्नु परेको खड्काले बताएका छन । भूकम्पपछि सगरमाथा जनता माध्यमिक विद्यालयको कक्षा कोठामा मौज्दात रहेको झण्डै आठ हजार थान त्रिपाल र समन्वयको कार्यालय परिसर र रुम्जाटारमा रहेको ठूलो परिमाणको तारजाली करिब गायब नै पारिएको छ ।
यस्तै स्थानीय सडक सहयोग कार्यक्रम (एलआरआईपी) का लागि स्विस सरकार विकास नियोग (एसडीसी) ले अनुदानमा उपलब्ध गराएको ४० क्विन्टलभन्दा बढी तारजाली अभिलेख बिना नै कांग्रेस नेतृत्वले गायब पारेको उजुरीमा उल्लेख छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र ४० टन भन्दा बढी जाली बुन्न बाँकी तार गायब पारिएको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताएका छन । स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सामग्री सभापति जयबहादुर श्रेष्ठले आफूखुसी वितरण गरेको उनले बताए ।

समितिले गएको वर्षको हिउँभरि तारजाली, त्रिपाल र कम्बल समितिका पदाधिकारीका नजिकका व्यक्तिलाई वितरण गरेको बताएको छ । विपद्का सामग्री समेत भण्डारणका लागि समस्या भएको र नष्ट हुने भन्दै वितरण भएपछि राजनीतिक दलहरुले विरोध गर्दै आएका थिए । जिल्ला समन्वय समिति अोखलढुंगामा कांग्रेसको एकलाैटी छ । जहाँ संयोजक जयबहादुर श्रेष्ठ र उपप्रमुख दिलकुमारी खतिवडा र जिल्ला समन्वय समितिका सदस्यहरुमा बिजय लामा, सुन्तला परियार, होमबहादुर बिक, ओमकुमारी दाहाल, सिता सार्की, निरबहादुर मगर र रामचन्द्र बोगटी रहेका छन । उनीहरू सबै नेपाली कांग्रेसका नेता हुन ।
प्रकाशित मिति : 21:18







