७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेसको कोटामा न्यायाधीश बनेका कुमार रेग्मीले पनि बालुवाटारको सरकारी जग्गा बेचेको खुलासा

१७ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको कोटामा सर्वोच्च अदालतको न्यायाधीश बनेका कुमार रेग्मीले बालुवाटारको सरकारी जग्गा प्लटिङ गरेर बेचेको खुलासा भएको छ । बालुवाटार जग्गा प्रकरणको फलोअप गरिरहेका कान्तिपुर दैनिकका कृष्ण ज्ञवालीले शुक्रबार रेग्मीले बालुवाटारको सरकारी जग्गा बेचेको खुलासा गरेका हुन । तत्कालीन कानुन व्यवसायी एवं कांग्रेस नेता रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो ।

बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययन/अनुसन्धान गरिरहेका छन् । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार रेग्मीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा खरिद गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको अभिलेखमा देखिएको छ । रेग्मीले  २०६१ माघ ११ मा कित्ता नं. ४४, ४६ र १६५ को जग्गा किनेका थिए । भाटभटेनी सञ्चालक गुरुङबाट राजीनामा पास गरी जग्गा लिएका रेग्मीले मालपोतको अभिलेखमा ५ लाख ८२ हजार रुपैयाँमा खरिद गरेको जनाएर राजस्व तिरेका छन् ।

नापी कार्यालयको तत्कालीन अभिलेखमा रेग्मीले किनेको कित्ता नम्बर ४४ को जग्गा ५ आना ३ पैसा, कित्ता नम्बर ४६ को क्षेत्रफल ५ आना १ पैसा र कित्ता नम्बर १६५ को क्षेत्रफल २ पैसा २ दाम छ । सबै जोड्दा उनले किनेको जग्गाको कुल क्षेत्रफल ११ आना २ पैसा २ दाम हुन्छ । त्यतिबेला प्रतिआना करिब ५० हजार रुपैयाँका दरले कारोबार भएको देखिन्छ । जग्गा किनेको करिब साढे दुई वर्षपछि रेग्मीले टुक्राटुक्रा पारेर बेचेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुन्धानबाट देखिएको छ ।

कित्ता नम्बर ४४ को जग्गालाई ९६, ९७, ९८ र ९९ नम्बरमा कित्ताकाट गरिएको छ । यी सबै टुक्रा जग्गाको कारोबार २०६४ साउन ४ गते गरिएको छ । विभिन्न सरकारी निकायमा पुगेको अभिलेखमा भने साउन ६ गते पास भएको विवरण छ । टुक्रा पारेर बेचिएका जग्गामध्ये कित्ता नम्बर ९६ को क्षेत्रफल ६७ दशमलव ५६ वर्गमिटर छ । दुई आनाभन्दा केही बढीको यो टुक्रा रेग्मीले नूतन श्रेष्ठलाई बेचेको रेकर्ड छ । कित्ता नम्बर ४६ बाट ४६८ नम्बरमा कित्ताकाट भएको जग्गाको क्षेत्रफल १३ दशमलव ९१ वर्गमिटर छ । झन्डै दुई पैसाको टुक्रा पनि उनले नूतनलाई नै बेचेका थिए । मालपोतको लिखतअनुसार दुई टुक्रा जग्गा १४ लाख ६४ हजार २ सय ८६ रुपैयाँमा ‘राजीनामा’ पास भएको छ ।

यी जग्गा कारोबारका बेला रेग्मी भाटभटेनी डिपार्टमेन्ट स्टोरका कानुनी सल्लाहकारसमेत थिए । उनले भाटभटेनीका सञ्चालकबाट जग्गा किनेर अरूलाई बेचेको देखिए पनि यी दुई पक्षको सम्बन्ध त्यसपछिका कारोबारमा समेत भेटिन्छ । २०६४ सालमा ४४ नम्बरको कित्ताबाट ३ दाम जग्गा कामना गुरुङका नामबाट विजय ताम्राकारलाई बिक्री भएको छ । त्यसमा मीनबहादुर गुरुङ अधिकृत वारेसनामा बसेका थिए । गुरुङले ललिता निवासका अन्य टुक्रा जग्गाहरूको कारोबार गरेकै मितिमा रेग्मीले समेत बेचेको देखिन्छ । गुरुङ र रेग्मीको जग्गा किन्ने व्यक्तिसमेत एउटै छन् । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन । 

प्रकाशित मिति : August 2, 2019 at 12:10 pm