मोबाइल चार्जमा राखेर गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु
१६ साउन, विराटनगर । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएकाे छ । मोरङको लेटाङ नगरपालिकामा -३ त्रिशूली चोकका पदमबहादुर राईका १५ वर्षीय छोरा शौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएकाे छ । साथी सुरज राईको घरमा गएका शौजन राति त्यहिँ सुतेका थिए ।

खाटको भित्तापट्टी सुतेका शौजन मोबाइलमा चार्ज गर्दै गेम खेलिरहेकाे समयमा उनलाई एक्कासी करेन्ट लागेको थियाे । सुरजले साथी एक्कासी छट्पटाउन थालेपछि बुवा-आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीले बताएकाे छ ।
करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ। शौजनको घाँटीमा डढेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताए।
प्रकाशित मिति : August 1, 2019 at 1:04 pm









