कलंकी गोली प्रकरणः सडक डिभिजनका पूर्व इन्जिनियर शुभाकर खनाल हतियारसहित पक्राउ
१४ साउन, काठमाडाैँ । सोमबार राति काठमाडौंको कलंकीमा भएको गोली प्रहारमा संलग्नको आशंकामा प्रहरीले सडक डिभिजनका पूर्व इन्जिनियर शुभाकर खनाल हतियारसहित पक्राउ गरेकाे छ । कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरमा गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले इन्जिनियर खनाललाई पक्राउ गरेकाे हाे ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार उनको साथबाट २ थान हतियार र त्यसमा लाग्ने गोली करिब ४५–५० राउण्ड बरामद भएको छ । उक्त हतियार इजाजत (लाइसेन्स)प्राप्त रहेको महाशाखा स्रोतले जानकारी दियो । प्रहरीका अनुसार अहिले उक्त हतियारको परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याब पठाइएको छ ।
हतियारसहित नियन्त्रणमा लिइएका खनाल भने अहिले अपराध महाशाखाको नियन्त्रणमा छन् । महाशाखाले खनालमाथि अनुसन्धान गरिरहेको जनाएको छ । कलंकीमाईस्थित शर्माको घरमा गोली चलेको खबर पाउनासाथै प्रहरीले घटनास्थल वरपर खानतलासी शुरु गरेको थियो । प्रहरीले सोमबार राति नै खनालको घरमा खानतलासी गर्न खोजेपनि उनको परिवारले ढोका खोलेको थिएन ।
प्रकाशित मिति : July 30, 2019 at 4:00 pm









