७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

५  किलो चाँदीको गहनासहित एक पक्राउ

१४ साउन, राझा । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो । पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ । उक्त चाँदीको नेपाली मूल्य रु एक लाख ७१ हजार २४१ हुने बताइएको छ ।

गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए । भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो । गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 30, 2019 at 11:34 am