७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कंगोमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको राष्ट्रसंघीय निर्देशकद्धारा प्रशंशा

१३ साउन, वलुंगो, कंगो । संयुक्त राष्ट्र संघको मोनुस्कोका निर्देशक कर्ण सोरोले नेपाली सेनाले शान्ति सेनाको रूपमा गरेको योगदानको प्रशंसा गरेका छन । प्रजातान्त्रिक गणतन्त्र कंगोको साउथ किभु प्रदेशको वलुंगो क्षेत्रमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाको गतिबिधि अवलोकन लागि आएको रक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँगको भेटमा निर्देशक कर्ण सोरेले नेपाली सेनाको काम देखेर आफू उत्साहित भएको बताए ।

उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका लागि तय वान फोर्स, वान मिसन र वान म्यान्डेटको नीति अक्षरश पालना गरेको बताए । नेपाली प्रतिनिधि मण्डललाई मोनुस्कोको साउथ किभु हेड अफिसमा स्वागत गर्दै आजका दिनसम्म नेपाली सेनाको काममा कुनै गुनासो गर्नु नपरेको बताए । उनले नेपाली सेनाको कामाण्डिक अफिसरको समेत प्रशंशा गरे । नेपाली सेनाको तैनाथीले वलुंगो क्षेत्रमा सशस्त्र समूहको गतिबिधि, हत्या हिंसा र लुटपाल न्यूनिकरण भएको बताए । उनले नेपाली सेनाको उपस्थितिले वलुंगो क्षेत्रका कंगोलीले सुरक्षाको अनुभुति गरेको बताए ।

सोहीक्रममा कंगोमा शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाको रणभीम गणका गणपति झविन्द्रबहादुर रेश्मीमगरले मुनस्को अफिसले कामका दौरान गरेको समन्वयको प्रशंशा गरे । उनले नेपालका शान्ति सेनाको उपस्थितिपछि स्वतः आपराधिक गतिबिधिहरू न्यूनिकरण भएको र केही सशस्त्र समहूले हतियार बुझाएर आत्मसमर्पण समेत गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि मनुस्कोको म्याण्डेट अनुसार नै नेपाली शान्ति सेना प्रभावकारी रूपमा शान्ति स्थापनाका लागि परिचालिन हुने प्रतिवद्धता जनाए ।

सोही क्रममा निर्देशक सोरोले शान्ति सेनाको २६ औँ डफ्फाको रूपमा कंगो प्रवेश गरेको नेपाली सेनाको ज्वाला दल गणका गणपति शैलेन्द्र कोइरालालाई स्वागत गरे । झण्डै ४० मिनेट लामो भेटघाटमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले निर्देशक सोरोसँग अन्तरक्रिया समेत गरेका थिए । प्रतिनिधिमण्डलमा उपप्रधान तथा रक्षामन्त्रीका उप स्वकीय सचिव ध्रुव थपलिया, पत्रकारहरू माधवप्रसाद तिवारी, मनोज जोशी, सचिन पोखरेल त्यस्तै नेपाली सेनाका मेजरद्धय उत्सव केसी र बोधराज कार्की तथा क्याप्टेनद्धय धनबहादुर खड्का र श्वेता पौडेल सहभागी रहेका थिए ।

प्रकाशित मिति : July 29, 2019 at 11:26 am