७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुर्खेतमा बहुविवाहको घटना बढ्दो

१२ साउन, वीरेन्द्रनगर । पछिल्लो समय सुर्खेतमा बहुविवाहका घटनाहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा बहुविवाह भएको भन्दै ४३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा १२ वटा मुद्दा बढी दर्ता भएको छ । प्रहरी महिला सेलका प्रहरी सहायक निरीक्षक डिला विकले छोरा मोहका कारण बहुविवाहका घटना बढेको बताउनुभयो ।

छोरा नभएकै कारण दोस्रो विवाहका घटनाहरु बढेको उहाँको भनाइ थियो । “यो आर्थिक वर्षमा मात्र ४३ वटा घटना दर्ता हुनु भनेको दुःखद घटना हो”, उहाँले भन्नुभयो, “जसका कारण महिलाहरु नै हिंसाको सिकार भएका छन् ।” दोस्रो विवाह गरेको भन्दै श्रीमान्माथि उजुरी गर्न आएका महिलाहरुसँग कुराकानी र छलफल गर्दा छोरा नभएको कारण अर्काे श्रीमती ल्याएको खुलेको प्रहरी सहायक निरीक्षक विकले बताउनुभयो ।

“बहुविवाहका अर्को महत्वपूर्ण कारण महिलाहरु आर्थिक रुपमा परनिर्भर हुनु हो”, उहाँले भन्नुभयो, “बहुविवाहजस्ता सामाजिक कुरुतीलाई रोक्न समाजका सचेत वर्ग सक्रिय भएर लाग्नुपर्छ ।” आर्थिक वर्ष २०७४÷७५ मा ३१, २०७३÷७४ मा ४१ र २०७२÷७३ मा ३९ वटा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्ता मुद्दाहरुमा शुरुआतमा प्रहरीमा आए तापनि महिलाको सामाजिक तथा आर्थिक कारणले मेलमिलाप गर्नसमेत बाध्य हुने गरेको उहाँले बताउनुभयो । महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाका निसा पौडेलले बहुविवाहका कारण महिला हिंसामा परेको बताउनुभयो । विभिन्न कारणले गर्दा बहुविवाहबाट पीडित महिला उजुरी लिएर संस्थामा आउने गरेको उहाँले बताउनुभयो । यसमा यौन हिंसा पनि जोडिएको पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : July 28, 2019 at 4:28 pm