प्रधानमन्त्रीद्वारा गङ्गालालमा नयाँ भवनको उद्घाटन
११ साउन, काठमाडाैँ । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले भगवान् माथिको विश्वास तथा भगवान्मा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गर्नुभयो ।

भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उहाँले बुद्धले पनि पात तथा जडिबुटी छोएको र त्यस बेलादेखि नै जडिबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गर्नुभयो । ओलीले गङ्गालाल हृदय केन्द्रको स्थापनापछि हालसम्म १७ हजार बिरामी मुटुको शल्यक्रिया गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गङ्गालाल हृदय केन्द्रले मुटुरोग लाग्न नदिन जनसाधारणमा सक्दो सचेतना फैलाउन जरुरी भएको बताउनुभयो ।
“यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातीका रुपमा उपचार गर्नुपर्दछ । कार्यक्रममा शहीद गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगीको उपचारलाई ध्यानमा राखेर स्थापना गरेको यो केन्द्रको स्थापनापछि धेरै मुटु रोगीले स्वास्थ्य उपचार र नयाँ जीवन पाएका बताउनुभयो । समारोहको सभापतित्व स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गर्नुभएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको समेत उपस्थिति थियो ।
प्रकाशित मिति : July 27, 2019 at 2:24 pm









