अब रक्सी बेच्न छाड्ने व्यवसायीले १ लाख २० हजार पुरस्कार पाउने
१० साउन, बैतडी । अब रक्सी बेच्न छाड्ने व्यवसायीले १ लाख २० हजार पुरस्कार पाउने भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने निर्णय गरेको हाे ।
गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले गाउँपालिका भित्रका जोसुकै रक्सी व्यापारीले रक्सीको कारोबार गर्दिनँ भनेर मदिरा बिक्री वितरण अनुमति पत्र बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट २० हजार रकम थप गरेर जम्मा एक लाख २० हजार दिइने बताइन् ।

रक्सीले गर्दा गाँउघरमा महिला हिंसाका घटनाहरु बढेकाले हिंसा न्यूनीकरणका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको उपाध्यक्ष कार्कीले बताइन् ।स्थानीय बजारहरुमा मान्छेहरु बिहानदेखि नै रक्सी पिएर ढलिरहेका भेटिने गरेकोले यस्तो निर्णय गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताए । गाउँपालिकाले दिने १ लाख २० हजारले नास्ता पसल, मासु पसल लगायत अन्य व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।
प्रकाशित मिति : July 26, 2019 at 2:08 pm









