नेकपा सचिवालय बैठक बस्नुअघि प्रचण्ड निवासमा गुटकाे भेला
५ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजेदेखि बस्दैछ । सचिवालय बैठक बस्नुअघि नै नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका छन् । तर बिहानको खाना समेत नखाई पूर्वमाओवादी पक्षका शीर्ष नेताहरू प्रचण्ड निवास खुमलटारमा जम्मा भएका छन् । आजको सचिवालय बैठकले महत्त्वपूर्ण निर्णय गर्ने र त्यससम्बन्धमा पूर्व सहमति आवश्यक देखिएकाले नेताहरू बैठक र छलफलमा जुटेकाे खुमलटार स्रोतले जनाएकाे छ ।

असार ३१ गते साँझ अबेरसम्म बसेको शीर्ष नेताहरूको बैठकले पूर्व एमाले र पूर्व माओवादीबीच विभागहरूको भागबण्डा गरेको थियो ।भागबण्डा अनुसार ३२ विभागमध्ये पूर्व एमालेको पक्षमा १८ र पूर्वमाओवादीको पक्षमा १२ विभाग परेको थियो । पूर्व एमालेका नेताहरूले आफ्नो भागमा परेका चार महत्त्वपूर्ण विभागहरूको नेतृत्व टुंगो लगाइसकेको छ ।
जसअनुसार संगठनमा वामदेव गौतम, स्कूलिङमा ईश्वर पोखरेल, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठान विभागमा वरिष्ठ नेता झलनाथ खनाल तोकिइसकेका छन् भने पूर्व माओवादीतर्फ परेको आर्थिक र प्रचार विभागको नेतृत्व तोक्न बाँकी छ ।
आज बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज, बाँकी रहेका अन्य विभाग, आयोगहरू, सल्लाहकार परिषद, जेष्ठ नागरिक संगठनको नेतृत्वमा सहमति जनाउनेछ ।
प्रकाशित मिति : 11:45









