६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

३० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ ।

आयोगले तत्कालीन उपकुलपति दासविरुद्ध रु चार करोड आठ लाख ९८ हजार, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध रु ५६ लाख ७७ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध रु तीन करोड ७५ लाख ३० हजार भ्रष्टाचार गरेको आरोप छ ।

बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले रु दुई करोड ३४ लाख ८१ हजार, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध रु एक करोड ७४ लाख १६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ । आयोगले चेतनविरुद्ध रु एक करोड चार लाख १६ हजार, उमेशविरुद्ध रु ६० लाख ३६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खरिदार शर्माले कार्यालयबाट खरीद भएको सामानको भुक्तानी दिने सन्दर्भमा सेवाग्राहीसँग रु ७० हजार घुस मागेको अभियोग लागेको छ ।

आरोपी शर्माविरुद्ध जरिवाना र कैद सजायको माग गरिएको छ । आयोगले जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय भोजपुरका सिडिइ मोहनबाबु यादवलाई रु एक लाख ८० हजार घुससहित आज पक्राउ गरेको छ । सिँचाइ कार्यक्रमको बील स्वीकृत गर्ने प्रयोजनका लागि सिडिइ यादवले घुस मागेको अभियोग लागेको छ । आरोपी यादवलाई भोजपुर नगरपालिका–७ स्थित फुपू भदैनी होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगले आजै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सिडिइ अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्नाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले बील मिलाइदिने भन्दै एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेका थिए । आयोगले दुवै जनाबाट बिगो असुल गरी कैद सजायको मागसमेत गरेको छ ।

प्रकाशित मिति : July 15, 2019 at 7:31 pm