६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

इन्टरपोलकाे महासचिवालयबाट डिफ्युजन जारी गरिएका व्यक्ति गोंगबुबाट पक्राउ

३० असार, काठमाडौँ ।  विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी राहदानी नम्बर ०९७०१५६२ बाहक गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं गोंगबु मित्रनगरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।


गुरुङ थरकी महिलालाई सुरेशले विभिन्न अश्लिाल म्यासेज लेखी पठाएकोमा त्यस्तो नगर्न उनका आफन्तले अनुरोध गर्दा अनुरोध गर्ने व्यक्तिलाई समेत इमो मार्फत अपशब्द लेखी, धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेकोले पीडितले सुरेश विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा गत वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।
प्रतिवादी गुरुङ उपर महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : July 15, 2019 at 6:43 pm