अविरल वर्षाको कारण २८ जनाको मृत्यु, १६ जना वेपत्ता, ११ जना गम्भीर घाइते
२८ असार, काठमाडाैँ । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी २८ जनाको ज्यान गएको हो । साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी ११ जना घाइते भएका हुन् ।
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १६ जना वेपत्ता भएका छन् ।बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको छ । साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । प्रहरी समाचार सेवाको सहयोगमा तयार पारिएको समाचार ।
प्रकाशित मिति : July 13, 2019 at 1:56 pm









