१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

अनेरास्ववियुद्धारा कक्षा ११ र १२ मा बढाइएको शुल्क फिर्ता गर्न माग

२४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कक्षा ११ र १२ को बढाइएको शुल्क फिर्ता गर्न माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सरकार र अन्य सम्बद्ध निकायले तोकेको मापदण्ड अवज्ञा गर्दै बढाइएको शुल्क फिर्ता गर्न माग गरेका हुन् ।

अनेरास्ववियुका कार्यवाहक संयोजक रञ्जित तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री गिरीराजमणी पोखरेललाई सिंहदरवारमा पाँचबुँदे ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा कक्षा १२ सम्मको शिक्षा विद्यालय शिक्षामा परिणत भइसकेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले भर्ना भएका कूल विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने र स्थानीय तहले छात्रवृत्तिका लागि सिफारिस गर्दा विद्यार्थीलाई भेदभाव गरेको पाइएकाले त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि लिएर क्याम्पस प्रमुखसम्मको नियुक्ति दलीय भागवण्डाका आधारमा हुने प्रवृत्ति अन्त्य गर्दै विद्यमान ऐन संशोधन गरेर यस पटकबाटै लागू हुनेगरी खुला प्रतिस्पर्धाका आधारमा पदाधिकारी छनौट हुने व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।

विभिन्न विश्वविद्यालयमा परीक्षा, भर्ना, सम्बन्धन, नियुक्तिलगायतका क्षेत्रमा देखिएका समस्या अविलम्ब समाधान गरी विश्वविद्यालयको साख र गरिमा धुमिल पार्ने भ्रष्ट पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विद्यार्थीका जायज मागलाई सम्बोधन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : July 9, 2019 at 8:01 pm