२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

संवैधानिक अधिकार संरक्षणमा आयोग क्रियाशील रहन्छः मियाँ अन्सारी

१६ असार, परासी ।  राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मुस्लिम समुदायले प्राप्त गरेको संवैधानिक अधिकार संरक्षणमा आयोग क्रियाशील रहेको बताउनुभएको छ । उहाँले मुस्लिम समुदायलाई अब हरेक क्षेत्रमा छुट्टै आरक्षण सुनिश्चित भएको बताउनुभयो

पश्चिम नवलपरासीको परासीमा ‘फैजाने अहले बैत’ले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष अन्सारीले भन्नुभयो, “लामो सङ्घर्षपछि संविधानमा हामीले आफ्नो अधिकार लेख्न सफल भएका छौँ, अब यो अधिकार कसैले छिन्न सक्दैन, आरक्षणको व्यवस्था भएको छ । कानून बनेपछि पूर्णरुपमा लागू हुन्छ ।” उहाँले मुस्लिम समुदायलाई शिक्षा र सीपको माध्यमबाट उत्थान गर्न आयोगले पहल थालेको बताउनुभयो ।

प्राप्त अधिकारको संरक्षण गर्न आयोग प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । शिक्षाको कमीका कारण मुस्लिम समुदाय पछि परेको अध्यक्ष अन्सारीले बताउनुभयो । हज यात्रीको सहजताका लागि काठमाडौँमा हजगृह बनाउन आयोगले पहल गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मुस्लिम सङ्गठनका अध्यक्ष सिराज अहमद फारुकी, फैजाने अहले बैतका जिल्ला अध्यक्ष शैयद गुलाम हुसेनलगायतले मुस्लिम समुदायको उत्थान र विकासमा जोड दिनुभएको थियो । रासस

प्रकाशित मिति : July 1, 2019 at 8:28 pm