गाउँमा खानेपानी पुगेपछि खुशी छन् मौलाथरवासी
३१ जेठ, बेझाड । बिहान उज्यालो हुन नपाउँदै पानी बोक्ने पिरलो हुन्थ्यो मौलाथरकी रिसिमाया खन्गाहालाई । उहाँले गाउँमा पानी आउँछ र सहजसँग उपभोग गर्न पाइएला भनेर कहिल्यै पनि कल्पना गर्नुहुन्नथ्यो । अहिले भने गाउँमा खानेपानी आएको देख्दा उहाँलाई सपना जस्तै लागेको छ । “पानी गाउँमै आएर सजिलोसँग पिउन पाइन्छ भन्ने आशा लागेको थिएन, एक दुई घण्टाको समय बिताएर पानी बोक्ने झण्झट हट्यो”, उहाँले भन्नुभयो ।

बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर घण्टौँ समय लगाएर खानेपानीको जोहो नगरे सम्म अर्को विकल्प थिएन । बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिले हटेको स्थानीय उदयराम सोती बताउनुुहुन्छ । उहाँले घरको सबै कामकाज छाडेर छिमेकी गाउँमा पुगेर कुवा, खोल्सीमा पानी खोजेर दिनचर्या बिताउँदै आउनुभएको थियो । “वर्षांैदेखिको मौलाथरवासीको खानेपानीको समस्या हटेको छ, पानी बोक्ने समय अन्यत्र कामकाजमा खर्चन पाइने भयो”, सोतीको भनाइ छ ।
एउटा कुवामा लामबद्ध अवस्थामा पालो कुरेर ल्याएको पानी पिउनेदेखि बस्तुभाउलाई पु¥याउनुपर्ने अवस्था थियो । जिल्लाको दुर्गम र विकट क्षेत्रअन्तर्गत पर्ने निस्दी गाउँपालिका– ४ मौलाथर गाउँमा सौर्य ऊर्जा प्रणालीमार्फत गाउँमा पानी लगेपछि यहाँका स्थानीयवासी दङ्ग छन् । खानेपानी गाउँमा आएपछि स्थानीयवासीमा सुखको अनुभूति झल्किएको छ ।
स्थानीयवासीलाई खानेपानीको सहज सुविधा पु¥याउन बस्तीदेखि छ किलोमिटर तलबाट पानी लिफ्टिङ गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक सोलारबाट खानेपानी लिफ्टिङ योजना सञ्चालन गरेको इञ्जिनीयर मातृका गौतमले बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयको जनसहभागिता गरी करीब एक करोडको लागतमा योजना सञ्चालन भएको खानेपानी कार्यालय पाल्पाका सव इञ्जिनीयर नारायण अर्यालले जानकारी दिनुभयो । यस वर्ष मुहानबाट पानी तानेर ट्याङ्कीमा जम्मा गरी पुरानो धाराबाट पानी लिने र आगामी आर्थिक वर्षको शुरुआतमै प्रत्येकको घरघरमा धारा जडान गरेर खानेपानी वितरण गर्ने उपभोक्ता समितिका अध्यक्ष जबर सिं सारुले बताउनुभयो ।
यस खानेपानी लिफ्टिङ योजनाबाट यहाँका ६५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । जनसङ्ख्या बढ्दै गएको यस गाउँमा खानेपानीका मुहान सुक्न थालेपछि पिउने पानी, गाईभैँसीलाई खुवाउन, लुगाधुन, बोटबिरुवामा प्रयोग गर्न निकै कष्ट भोग्दै आएका थिए । गाउँमा पानी पुगेपछि व्यावसायिक तरकारी खेती गर्ने स्थानीयवासीको सोंच छ । यहाँका स्थानीयवासीले तरकारी, अन्नबाली, फलफूल लगाएर आम्दानी पनि गर्नसक्ने प्रशस्त सम्भावना छ । रासस
प्रकाशित मिति : 14:30









