२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

उर्जामन्त्रीले पत्रकार रबि लामिछानेलाई ‘ठूलो भ्रष्टाचारी हुन्’ भनेर भनेका छैनन्ः सचिवालय

३१ जेठ, काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले पत्रकार रबि लामिछानेलाई ‘ठूलो भ्रष्टाचारी हुन्’ भनेर भनेको भन्दै केही अनलाइनम समाचार प्रकाशित भएको भन्दै मन्त्रीको सचिवालयले खण्डन गरेको छ । मन्त्रीले त्यस्ता विषयमा कुनै टिप्पणी नगरेको भन्दै भ्रमको पछि नलाग्न सचिवालयले अनुरोध गरेको छ ।

 

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति
माननीय उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ। पत्रकार रबि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्गसमेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ।

उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ। त्यसैले यो खबर झुटो भएको जानकारी दिन चाहन्छौं।

पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं।

म यस प्रकारका भ्रममा समेत नपर्न सम्वन्धित सवैमा आग्रह गर्दछु। साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरुलाई जानकारी दिन चाहन्छु।

मिति २०७६/०२/३१

रोशन खड्का
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको प्रेस संयोजक

प्रकाशित मिति : June 14, 2019 at 12:56 pm