नेपाल बङ्गलादेश सम्बन्ध वृद्धिमा जोड
३० जेठ, काठमाडाैँ । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स आज सम्मानित हुनुभएको छ । यहाँ आज अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखरा र नेपाल बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यलाई सम्मान र माया गरेवापत राजदूत साम्सलाई सम्मान गरिएको हो । नेपाली लोकसाहित्यका विशिष्ट साधक लोककवि अलि मियाँका नाममा विसं २०५९ जेठ ९ गते कास्कीमा स्थापित प्रतिष्ठानले हरेक वर्ष लोककवि मियाँको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्ने, नेपाली लोकवाङ्मयको संरक्षण र सम्बद्र्धन गर्नका लागि विविध कार्यक्रम गर्ने, साहित्यिक कृति प्रकाशन गर्ने, लोककवि व्यक्तित्वलाई सम्मान÷पुरस्कृत गर्दै आइरहेको छ ।

सो अवसरमा राजदूत साम्सले नेपाल र बङ्गलादेश दुवै समृद्धितिर अघि बढिरहेको बताउँदै कला, साहित्य तथा व्यापार आदिमा दुई देशबीच सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले नेपाल र बङ्गलादेशबीचको सहकार्यले दुई देशको धार्मिक तथा सांस्कृतिक सद्भाव बढाउन सहयोग पुगेको बताउँदै नेपाली साहित्यमा अली मियाँको योगदान महत्वपूर्ण रहेको छ भन्नुभयो । राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेलले नेपाली कृतिलाई विभिन्न भाषामा अनुवाद गर्न सके आगामी दिनमा विश्वसामु नेपाली साहित्यलाई चिनाउन सहयोग पुग्ने बताउनुभयो ।
अलि मियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, उपाध्यक्ष तथा प्राज्ञ हरिदेवी कोइराला र सचिव पद्मराज ढकालले नेपाल र बङ्गलादेशबीचको सहकार्य र सम्बन्धले दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन सकिने बताउनुभयो । नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजालले काठमाडौँ–ढाका बस सेवालाई निरन्तरता दिनुपर्ने, फूलबारी नाका खोल्नुपर्ने, राजदूत नियुक्त गर्दा कूटनीतिक व्यक्तित्वलाई गर्नुपर्ने सुझाव दिनुभयो । अलि मियाँ प्रतिष्ठान र मैत्री सङ्घका सल्लाहकार धर्मराज बरालले दुई देशबीच साहित्य, कला, भाषा, पर्यटन आदिको आदानप्रदान हुनुपर्नेमा जोड दिनुभयो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्वसामु चिनाउनका लागि विश्वका धेरै भाषामा अनुवाद गर्नैपर्ने बताउनुभयो । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले नेपाल बङ्गलादेशबीच व्यापार वृद्धिमा जोड दिनुभयो । रासस
प्रकाशित मिति : 19:54









