२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माअोवादी अध्यक्ष प्रचण्डलाई हेलिमा उडाउन सांसदले मागे ३ लाख २५ हजार

२७ चैत, ढोरपाटन । ढोरपाटन महोत्सव-२०७५ बैशाख १ गते उदघाटनका लागि प्रचण्डलाई पुर्याउन बागलुङ २ का सांसद देवेन्द्र पौडेलले ३ लाख २५ हजार रूपैयाँ माग गरेका छन् । पौडेल हिजो बुर्तिबाङ बजार छेउँ पुगेर पैसा माग गरी फर्किएका हुन ।

पौडेलमाथि केही महिनाअघि हातपात भएकाले खुलेर बुर्तिबाङ बजार घुम्न सकेका छैनन् । आफूलाई सुरक्षित बनाउन अध्यक्ष प्रचण्डसँगै हेलिमा जाने पौडेलले सोंच बनाएका छन् । ‘रिभरहेड बोर्डिङ स्कुलसम्म आउनुभयो । त्यहींबाट प्रचण्डलाई उदघाटनमा हेलिबाट लिन ३ लाख २५ हजार माग गरेर माननीय कसैसँग भेट नगरी फर्किनुभयो’, उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक चिन्तामणि कँडेलले बताए ।

प्रमुख अतिथि लिने सबै जिम्मेवारी लिएका माननीय पौडेल एक्कासी ३ लाख २५ हजार रूपैया माग्न बजार छेउँसम्म पुगेपछि महोत्सव अध्यक्ष चिन्तामणि चिन्तित भएका छन् । पार्टी अध्यक्ष आउने भएपछि माओवादी नगर समितिका अध्यक्ष चन्द्र अर्यालले १ लाख रूपैया जोहो गरिदिने भएका छन् । प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले ४ जनाका लागि हेलिकप्टर बैशाख १ गते दिनभर नि:शुल्क उपलब्ध गराएर सहयोग गर्ने बताए पनि प्रचण्डको टिम अट्न नसक्ने सांसद पौडेलले जिकिर गरेका छन् । ५ जना अट्नै पर्ने सिस्टम भएकाले ३ लाख २५ हजारमा अर्को हेलिकप्टर लिनुपर्ने जानकारी गराएर पौडेल बजार नपुगी फर्किएका छन् ।

‘अध्यक्ष नै आउने भएपछि इज्जतका लागि एक लाख दिने भनेको छु’, नगर अध्यक्ष अर्यालले भने । अध्यक्ष प्रचण्ड स्वयं संस्था भएको र सांसद सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र संस्था भएकाले पैसा उठाउँदै हिड्नु अनैतिक कार्य भएको माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले बताए ।

प्रचण्डलाई प्रमुख अतिथिका रूपमा बुर्तिबाङमा उपस्थिति गराउने सम्पूर्ण जिम्मा सांसद पौडेलले लिएका थिए । अचानक पौडेल पैसा माग्न पुग्पछि आयोजक समितिभित्र टिकाटिप्पणी सुरू भएको छ । त्यस क्षेत्रमा अहिले जो हेलिमा चढ्यो उही नेता मानिने होड चलेको छ । सबै भन्दा बढि ढोरपाटन नगरपालिकाका मेयर हेलि चढ्छन । ३० गते प्रधानमन्त्री केपी ओली ढोरपाटन शिकार आरक्षमा नेपाली सेनाको क्याम्प उदघाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेलसँग हेलिमा जानका लागि मेयर देवकुमार नेपाली अहिले एक सातादेखि काठमाडौंमै रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ११:५९