३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

रोल्पामा शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते, पाँचको हात भाँच्चियो एकको कानको जाली फुट्यो


२० जेठ, काठमाडाैँ । रोल्पाको एक विद्यालयमा शिक्षिकाकाे कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो । घाइतेहरुको अनुहार पनि सुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा. शर्माले बताउनुभयो । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिका पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताउनुभयो । ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो । विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरु सर मिसहरु अफिसतर्फ दौडिनुभयो ।’

तस्बीरः नरेन्द्र केसी/नेपाल समाचारपत्र

शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली रहेका छन् । शिक्षिकाको कुटाईबाट कक्षा ३ मा पढ्ने नरबहादुको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीहरुले बताएका छन् ।

घटना गएको बैशाख १२ गते भए पनि वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाइले जानकारी दिनुभयो । विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि दाङ उपचारमा ल्याइएको छ । दुखाईका कारण रातदिन सताउने र लेख्नपढ्न समेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले बताउनुभयो । यो समाचार नरेन्द्र केसीले नेपाल समाचार पत्र दैनिकमा दाङबाट प्रेषित गरेका हुन । 

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ०८:१५

https://srdb.com.np/