विश्वकप क्रिकेटमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाको विजयी सुरूवात
१९ जेठ, काठमाडाैँ । अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि रक्षा यात्राको सुरुवात गरेको छ । अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । उसका लागि ओपनर वार्नरले ११४ बलमा ८९ रनको शानदार पारी खेले । अर्का ओपनर तथा कप्तान फिन्चले ४९ बलमा ६६ रनको योगदान गरे ।
वर्नरले पहिलो विकेटका लागि फिन्चसँग मिलेर ९६ रनको साझेदारी गरेका थिए । गुल्वादिन नइवको बलमा फिन्च आउट भएपछि आएका उस्मान ख्वाजासँग मिलेर अर्को ६० रनको साझेदारी गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा २०७ रनमा अलआउट भएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रन बनाए । यस्तै रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए । राशिद खानले ११ बलमा २७ रनको विष्फोटक पारी खेले । अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कुमिन्सले समान ३–३ विकेट लिए ।
प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ०९:१७