दुई श्रीमति हुँदाहुँदै मजदुरको श्रीमति बलात्कार गर्ने विराटनगरका उद्योगी गाैतम जेल चलान
१६ जेठ, विराटनगर । घरमै दुई श्रीमति हुँदाहुँदै आफ्नै उद्योगमा कार्यरत मजदुरको श्रीमति बलात्कार गर्ने विराटनगरका एक उद्योगी मंगलबार जेल चलान भएका छन । विराटनगर-३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक दीपक गाैतम मजदुरको श्रीमति बलात्कारको अभियोगमा पूर्पक्षका लागि जेल चलान भएका हुन् । लामो समयदेखि सञ्चालित उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि-डिजाइनका काम र सीटीपीको प्लेट बन्ने गरेको छ ।
त्यही उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई गएको वैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको परिवार बसेको कोठाभित्र लगेर जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले गएको वैशाख १८ गते प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले त्यसैदिन गौतमलाई पक्राउ गरेको थियो ।

गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिसरमै लामो समयदेखि ‘फेमिली क्वार्टर’ मा बस्दै आएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा ती महिलाले आफ्ना श्रीमानलाई बताएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।
गौतमले गएको १५ वैशाखमा उद्योगको बाथरूममा लगेर करणी गरेको आरोप छ । आराेपित गौतमका दुई श्रीमती रहेकाे पनि प्रहरी स्रोतले बताएको छ । उद्योग सञ्चालक विराटनगर-३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको इजालसले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले बताएका छन । अदालतको आदेशपछि गौतमलाई पुर्पक्षको लागि जिल्ला कारागार मोरङमा पठाइएको छ । तर गौतमका परिवारले भने उनलाई फसाएको दाबी गरेका छन ।
प्रकाशित मिति : 21:26









