२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

रक्सी तस्करीमा संलग्न भारतीयसहित छ जना पक्राउ

२६ चैत, सप्तरी । नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मदिरा करीब रु ६ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिससहित मदिरालाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०८:०५