३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

दलित भएकै कारण स्थायी शिक्षकले विद्यालयमा आफ्नै  हाजिर गर्न पाएनन्

१६ जेठ, गौशाला । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् ।

सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराएपछि स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता विक्रम चौधरीले बताउनुभयो ।

सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयको शिक्षकको रूपमा आउनुभएका दासलाई विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण विद्यालयमा हाजिर हुन नदिएको नेता चौधरीले बताउनुभयो । एक साताअघि विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले भोलि÷पर्सि गर्दागर्दै कुनै पनि हालतमा अब हाजिर नै नगराउने भनेपछि करीब १०० को सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । यसरी विगत तीन दिनदेखि सो विद्यालयमा तालाबन्दी हुँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी शिक्षादीक्षाबाट वञ्चित छन् ।रासस

प्रकाशित मिति : 10:52