३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

१६ जेठ, गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पुलको फाउण्डेशन निर्माणमा गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग भएको भनी रघुगङ्गा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले प्रशासन कार्यालयलाई जानकारी गराएपछि पुल निर्माणको काम अर्को व्यवस्था नहोउञ्जेलसम्म रोक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सदरमुकाम बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ पिप्लेको सीमाक्षेत्रमा पर्ने राहुघाटको पिप्लेखण्डमा पक्की पुलको फाउण्डेशन राख्न ढलानको काम भइरहेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इञ्जिनीयर ओमराज ढुङ्गाना, प्रहरी नायब उपरीक्षकसमेत पुल निर्माणस्थल पुगेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिक आई गुणस्तर निर्धारण नगर्दासम्म पुलमा भइरहेको काम स्थगित गर्न निर्देशन गर्नुभएको हो ।

“जिम्मेवार तहबाट नै गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि प्राविधिकसहित स्थलगत अनुगमन गर्दा धुलो बालुवा र धेरै साना गिट्टी प्रयोग भएको पाइयो”, प्रजिअ अधिकारीले भन्नुभयो, “डिजाइन स्टिमेटअनुसार निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने दायित्व सम्बन्धित आयोजनाको भएकाले निर्देशन गरिएको हो ।”

तर, ठेकेदार कम्पनी शर्मा गजुरमुखी युनाइटेडका इञ्जिनीयरले भने पुल निर्माणका लागि कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन गरिएको बताउनुभएको छ । “आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन दिएको हो”, इञ्जिनीयर सोनारी क्षेत्रीले भन्नुभयो, “ठेकेदार पक्षबाट कुनै बदमासी भएको छैन ।रासस

प्रकाशित मिति : 10:38