द्वन्द्वपीडितलाई नगद सहयोग
१४ जेठ, रूकुम । सिस्ने गाउँपालिका–५ रुकुमकोटका द्वन्द्वपीडित धरमबहादुर शाहलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले रु १५ हजार रकम सहयोग गरेको हो । सशस्त्र द्वन्द्वको समयमा सेनाले नियन्त्रणमा लिई १५ महीना हिरासत र जेल बस्नुभएका ६३ वर्षीय शाहलाई कानूनी प्रक्रियामा सहयोग पु¥याउने उद्देश्य सो रकम सहयोग गरिएको इन्सेकले जनाएको छ । शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि शाहले कतैबाट पनि राहत तथा क्षतिपूर्ति नपाएपछि त्यसको प्रक्रिया अगाडि बढाउन पहल गर्दै आवश्यक खर्च गर्न १५ हजार रकम उपलब्ध गराएको इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले बताउनभयो ।

सो सहयोग रकम रुकुमका प्रजिअ मित्रलाल शर्मा र केसीले संयुक्त रुपमा शाहलाई हस्तान्तरण गर्नुभएको हो । शाहले भन्नुभयो, ‘सहयोगका लागि पहिले पनि पहल नगरेको त होइन, तर पनि कतैबाट सहयोग पाउन सकेको थिएन ।” ढिलै भए पनि इन्सेकमार्फत सहयोग पाउँदा मनमा केही आशा पलाएको उहाँको भनाइ छ ।
सरकारका तर्फबाट राहत पाउन छुटेका शाहका लागि के गर्न सकिन्छ भन्ने बारेमा माथिल्लो तहमा बुझ्ने र आफूले गर्नुपर्ने सबै सहयोग गर्ने प्रजिअ शर्माले बताउनुभयो । शाहले राहत नपाएको कुरा जानकारीमा आएपछि इन्सेकले त्यसका लागि पहल गरेको इन्सेक जिल्ला प्रतिनिधि केसीले बताउनुभयो । रासस
प्रकाशित मिति : 12:54









