३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण

१३ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी, ज्ञानकुमारी छन्त्यालले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँहरुले मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिँदै कैलालीकी निर्मला पन्त तथा पाँचथरका एकैपरिवारको हत्याको घटनाबारे प्रभावकारी अनुसन्धान गर्न र नेत्रविक्रम चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिनुभएको थियो । शून्य समयमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा मालपोत कार्यालय स्थापना गर्न र सांसद लीलानाथ श्रेष्ठले सुनकोशी कमलामाई नदीमा डाइभर्सन निर्माण तत्काल अघि बढाउन आग्रह गर्नुभएको थियो ।रासस

प्रकाशित मिति : 14:37