३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छः मुख्यमन्त्री राउत

८ जेठ, काठमाडाैँ । हिमालयन बैंक लिमिटेडले शाखा सञ्चालन विस्तारका क्रममा आफ्नो ५८ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शाखाको उद्घाटन गर्दै बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी छ भन्नुभयो ।

उहाँले प्रदेशमा युवाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको समस्यालाई दृष्टिगत गरी युवाहरूले विदेश कमाएको रकम उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने समयसापेक्ष सेवा उपलब्ध गराउनुपर्ने खाँचो आँैल्याउनुभयो । प्रदेशमा ऋण तिर्न नसक्ने स्थितिमै विदेशबाट लास आउने समस्या जटिल रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले युवाले स्वदेशमै रोजगार पाउने कार्यक्रमको थालनी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना भएको चर्चा गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशीलता र सहयोगका लागि आग्रह गर्नुभयो ।

सो बैकले हालसम्म रु एक खर्ब १२ अर्ब २६ करोड ६२ लाख लाख निक्षेप सङ्कलन गरी कर्जा सापटका रूपमा उत्पादनशील तथा आधारभूत क्षेत्रमा रु ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको जनाइएको छ । बैंकले चालू आवको नौ महीनामा रु दुई अर्ब ८६ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताइएको छ । हाल सो बैंकको एटिएम सङ्ख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार पाँच सय रहेको छ ।रासस

प्रकाशित मिति : May 22, 2019 at 4:34 pm