११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

सडक डिभिजन कार्यालय सिरहाले काम समयमा पूरा नगर्ने आठ ठेकेदार कम्पनीमाथि कारवाही गर्याे

२ जेठ, लहान । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

सम्झौताबमोजिम ठेक्काको काम शुरु नै नगरेको तथा कार्य शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक पत्र तथा सूचनामार्फत पटकपटक जानकारी गराउँदासमेत कार्य शुरु गर्नेतर्फ पहल नथालेपछि कारवाही शुरु गरिएको प्रमुख साहको भनाइ छ ।

सप्तरीको गिदेरी खोला पुल र महुली घाडन खोला पुलको ठेक्का लिएको पप्पु मृत सञ्जिवनी जेभी काठमाडौँमाथि कारवाही गरी दुवै ठेक्काबाट रु दुई करोड १८ लाख ७० रकम फिर्ता गराइएको छ भने सप्तरीको मुतनी खोला र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरमाथि कारवाही गरी रु ५९ लाख ७० हजार फिर्ता गराइएको छ ।

सप्तरीको सुमन्दरी खोलामा पुल निर्माणको ठेक्का लिएको नीलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडौँमाथि समेत कारवाही गरी रु ४७ लाख ५० हजार रकम फिर्ता गराएको कार्यालय प्रमुख साहले बताउनुभयो । त्यस्तै अन्य तीन ठेक्काका ठेकेदारमाथि समेत कारवाही गरी रकम फिर्ताका लागि बैंकमा पत्र काटिएको जनाइएको छ ।

कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम शुरु नगर्ने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीमाथि निगरानी बढाइएको प्रमुख साहको भनाइ छ ।

प्रकाशित मिति : May 16, 2019 at 10:51 am