१ असार २०८३, सोमबार | Mon Jun 15 2026

डर धम्की दिएर पटक–पटक बलात्कार गर्ने तीन जना पक्राउ

१ जेठ, काठमाडाैँ । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ ।

गत वैशाख २८ गते सर्लाही हरिवन नगरपालिका–११ घर भई हाल सल्लाघारी बस्ने ती बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नङ्खेलको सिटी गाउँ होटलमा गत वैशाख २७ गते लगेर डर धम्की दिई १५ वर्षीया अर्की किशोरीलाई बलात्कार गरेको अभियोगमा बर्दिया बैदी नगरपालिका–१० घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । किशोरीकी आमाले किटानी जाहेरी दिएपछि पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई नै हिरासतमा राखेर जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।

प्रकाशित मिति : May 15, 2019 at 4:31 pm