११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

भ्रष्टाचार नगर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छः सांसद सापकोटा

३१ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “समृद्धिको बाधक भनेको भ्रष्टाचार हो, हामीले यसलाई नियन्त्रण गर्ने कुरा गरिरहेका छौँ, तर दिनदिनै झागिँदै गएको छ, यसबारेमा अनुसन्धान गरेर चिरफार गर्नुपर्छ ।”

आगामी बजेटका प्राथमिकता र सिद्धान्तले सही दिशानिर्देशन गर्ने ढङ्गबाट आएको भनी स्वागत र समर्थन गर्दै उहाँले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझाव समेट्न सुझाव दिनुभयो ।

मौलिक हकको रक्षा गर्ने ढङ्गबाट विधेयक ल्याइयोस्– प्रमुख सचेतक खाँण

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्ने ढङ्गबाट मिडिया काउन्सिल विधेयक आएकाले त्यसलाई फिर्ता लिन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “मानवअधिकारको खण्डित गर्ने होइन, मौलिक हकको रक्षा गर्ने ढङ्गबाट विधेयक ल्याइयोस्, बालबालिकाको शिक्षासम्बन्धी हक तथा ज्येष्ठ नागरिकको हकअधिकार सुनिश्चित गर्नेतर्फ पनि सरकारले विशेष ध्यान पु¥याओस् । सरकारले प्रस्तुत नीति तथा कार्यक्रम तथा विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रम नै नमिलेको बताउँदै उहाँले भन्नुभयो, “आगामी बजेट बनाउँदा संविधान पढेर मौलिक अधिकार कार्यान्वयन गर्न सहयोग पुग्ने ढङ्गबाट बनाइयोस् ।’’

नेकपाका सांसद सुजिता शाक्यले आगामी बजेटलाई महिलामैत्री बनाउन र सामाजिक सुरक्षालगायतका रकमको सदुपयोगका लागि राष्ट्रिय परिचयपत्र बनाउने कामलाई पनि प्राथमिकता राखिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “गम्भीर प्रकृतिको रोगको उपचारका लागि सरकारले सहयोग उपलब्ध गराउने नीतिलाई परिमार्जन गरी बीमामार्फत् उपचार गराउने व्यवस्था गर्न तथा हाम्रा अमूल्य जडीबुटीको धेरैभन्दा धेरै उपयोग गर्न प्रशोधन केन्द्र स्थापना गर्न बजेटले ध्यान पु¥याउनुपर्छ ।

यसैबीच, अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजन विधेयकमाथि सांसदले उठाउनुभएको प्रश्नको आजै जवाफ दिनु हुने कार्यसूची छ । बैठक जारी रहेको छ ।

प्रकाशित मिति : May 14, 2019 at 1:15 pm