हावाहुरी पीडितका लागि प्रदेश नं १ सरकारद्वारा १ करोडको चेक हस्तान्तरण
३० वैशाख, काठमाडाैँ । प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं १का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपत्मा प्रदेश नं १ ले सानो सहयोग गरेर प्रदेश नं २ को विपत्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताउनुभयो ।
प्रदेश नं २ का मुख्यमन्त्री राउतले प्रदेश नं १को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक सङ्घीय संरचनामा गएपछि प्रदेश प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताउनुभयो । बारा पर्सामा गत चैत १७ गते आएको हावाहुरीमा २९ जनाको मृत्यु भएको हो भने करोडौँको धनमालको क्षति भएको थियो ।
प्रकाशित मिति : 19:30









