५ लाख घुसलिने वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी पक्राउ
२९ वैशाख, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामीडाँडा सामुदायिक वन उपभोक्ता समिति बाँकेका वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई रु पाँच लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
सामुदायिक पनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई राप्तीसोनारी गाउँपालिका–१ बैरियाबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले रु २० हजार घुस लिएको अभियोगमा नवलपरासीमा कार्यरत नापी सर्वेक्षण छत्रबहादुर ठकुल्लालाई आज पक्राउ गरेको हो । जग्गाको क्षेत्रफल मिलाइदिने भनी ठकुल्लाले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।
बेहडाबाबा उच्च माध्यामिक विद्यालय कैलालीका तत्कालीन प्राधानाध्यापक गोविन्दराज ओझाले गैरहाजिरीमा रहेका शिक्षकका नाममा गलत तवरले तलबभत्ता लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको सामान खरीदमा हिनामिना गरेको तथा हाजिर नै नभएको शिक्षकका नाममा तलबभत्तासमेत लिइ रु ११ लाख ४२ हजार २७२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
यस्तै आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत सुरज केसीले निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनाका लागि सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै कोटहीमाई प्रावि कपिलवस्तुका शिक्षिका नन्दनी श्रीवास्तवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति : May 12, 2019 at 7:24 pm









