२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

काठमाडौँ महानगरको आयोजनामा खुला तस्बिर प्रतिस्पर्धा, मीन बज्राचार्यकाे तस्बिर प्रथम

२७ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले यूएन ग्लोवल सडक सुरक्षा सप्ताहको अवसर पारेर ट्राफिक सम्बन्धि शिक्षामूलक तस्बिरहरुको प्रदर्शनी तथा प्रतिस्पर्धाको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रभित्र बढ्दो सवारी चाप र सो बाट सृजित समस्यालाई समेत ख्याल गर्दै सहरी यातायात सुधारसम्वन्धि खुला तस्बिर प्रतिस्पर्धा तथा प्रदर्शननीको आयोजना गरेको हो । यस अघि पनि काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सर्वेक्षण, सडक सर्भेलगायतका काम गर्दै आएको थियो ।

‘सडक दुर्घटना, सडक अनुशासन र जनचेतनाको यथार्थ अवस्था पहिचान गर्नका लागि सडकसँग सम्वन्धित विविध तथ्यांकहरुको संकलन गर्नका लागि खुला तस्विर प्रतिस्पर्धा एक उपयुक्त विधि हुने ठहर गर्दै महानगरपालिकाले यस्तो प्रतिस्पर्धाको आयोजना गरेको हो,’ खुला तस्बिर प्रतिस्पर्धा तथा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘यी महत्वपूर्ण तस्बिरहरुको प्रदर्शनीले सडक सुरक्षा सम्वन्धी जनचेतना अभिवृद्धिमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।

’उहाँले यस अघि यस्तो तस्बिरहरुको प्रदर्शनी ट्राफिक प्रहरीले मात्रै गर्दै आएको भन्दै पहिलो पटक ट्राफिक प्रहरीसँग समन्वय गरेर यस्तो प्रदर्शनी गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले जोसमा होस गुमाएर सवारी चलाउनेहरुका लागि पनि यो प्रदर्शनीले केही चेतना दिने दाबी गर्नुभयो ।

दुर्घटना भएपछि होइन कि त्यस अघि नै सवारी चालकहरुलाई चेनता होस भनी शिक्षा दिन र लिनका लागि सवारी दुर्घटनासँग सम्वन्धित तस्बिर प्रदर्शनी गरेको जानकारी दिनुभयो । त्यसैगरी ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि देखाएको चासो सकारात्मक भएको बताउनुभयो,’ उहाँले भन्नुभयो, ‘ट्राफिक व्यवस्थापनका काम ट्राफिकको मात्रै हो भन्ने अहिले पनि भ्रम छ । तर, यसको व्यवस्थापनमा हामी सबैको सहभागिता अनिवार्य छ । काठमाडौँ महानगरपालिकाले यो स्तो कार्यक्रम गरेर ट्राफिक व्यवस्थापनका लागि जनचेतना फैलाउने काम गरेकोमा खुशी लागेको छ ।

सो अवसरमा बोल्दै सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले सडक सुुरक्षामा ट्रिपल इ (इञ्जिनियरिङ्, इन्फोर्समेन्ट र एजुकेसन) को सुत्र लगाएर काम गर्नुपर्छ  भन्नुभयो ।खसो प्रतियोगिताका लागि प्राप्त २ सय बढी तस्बिर मध्ये फोट पत्रकार मीनरत्न बज्राचार्यको तस्बिर प्रथम, प्रविण कोइरालाको तस्बिर दोस्रो र मीन लामाको तस्बिर तृतिय भएको सहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी पत्रकार रमेश गिरी, मिशन जीसी र पत्रकार रोविक उपाध्ययको तस्बिरले सान्त्वोना पुरस्कार प्राप्त गरेको छ ।

एउटै मोटरसाइकलमा पाँच जना सवार बज्राचार्यको तस्बिरले २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी घाइते अवस्थामा सडकमा बसिरहेको कोइरालाको तस्बिरले २० हजारसहितको दोस्रो र लामाले खिचेको आकाशे पुलमुनीबाट हिँडिरहेका नर्सको तस्बिरले १५ हजारसहितको तेस्रो पुरस्कार प्राप्त गरेको छ । सान्तोवनालाई १०–१० हजारको पुरस्कार दिइने भएको छ ।

तीन दिनसम्म चल्ने उक्त फोटो प्रदर्शनीबाट विभिन्न सम्बन्धित विज्ञ लगायत सर्वसाधारणले लिएको शिक्षाप्रद तस्विरले ट्राफिक नियमपालनाले भएको जीवन सुरक्षा र लार्पवाहीले ल्याउने दुर्घटनाको बारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि हुने अपेक्षा गरेको महानगरपालिकाले जानकारी दिएको छ । त्यो सँगै तस्बिर प्रर्दशनीले ट्राफिक नियमपालनाका शिक्षाहरु महानगरपालिका लगायत नगरबासीहरुले समेत प्रयोगमा सम्वन्धित सरोकारवाला निकाय तथा संघ सस्थासँग साझेदारीमा कार्य गर्ने वातावरण सिर्जना हुनेछ ।

 

प्रकाशित मिति : 17:45