२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

म्याग्दीमा भएकाे बस दुर्घटनामा घाइते भएकाको उपचार खर्च नगरपालिकाले व्यहोर्ने

२६ वैशाख, म्याग्दी । बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको उपचारको खर्च बेनी नगरपालिकाले व्यहोर्ने भएको छ । बुधवार साँझ बेनीबाट यात्रु लिएर तोरीपानी जाँदै गरेको बस बेनी नगरपालिका–९ भुर्तेदैलाको जम्रेनीमा दुर्घटना हुँदा १६ घाइते भएका थिए । घाइतेको बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले दुर्घटनामा घाइतेको उपचारमा बेनीनगरपालिकाले सहयोग गर्ने भएकाले उपचारमा खटिएका चिकित्सकलाई घाइतेको उपचारमा कुनै कमी आउन नदिन आग्रह गर्नुभएको छ ।
घाइतेमध्ये चालक हरि भण्डारीसहित १४ को बेनी अस्पताल र दुई जनाको पोखरा मणिपाल अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

बस दुर्घटनामा परेकामध्ये बेनी नगरपालिका–९ तोरीपानीका रुद्रबहादुर चोखाल र मङ्गला गाउँपालिका–१ टोड्केका रतन थजालीलाई थप उपचारका लागि पोखरा मणिपला अस्पतालमा रिफर गरिएको छ ।

प्रकाशित मिति : 12:59