२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट र चिकित्सकको माग

२५ वैशाख, काठमाडाैँ । राष्ट्रियसभाका सांसदले आवश्यक बजेट र चिकित्सकको व्यवस्था गरी राप्ती अस्पताल सञ्चालनमा ल्याउन माग गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद अनिता देवकोटाले रुकुम, रोल्पा, सल्यान, दाङलगायत जिल्लाका जनताको उपचार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आवश्यक बजेट माग गर्नुभयो ।

सांसद कोमल ओलीले चिकित्सक र बजेटको अभावमा राप्ती अस्पताल सञ्चालनमा समस्या देखिएको बताउँदै त्यहाँका जनताको उपचार गर्ने वातावरण तत्काल बनाइनुपर्नेमा जोड दिनुभयो ।

सांसद कविता बोगटीले हुम्ला जिल्लाका साथै कर्णाली प्रदेशमा कर्मचारी अभावले जनताको दैनिक काममा अवरोध भइरहेको उल्लेख गर्दै आवश्यक कर्मचारी तत्काल व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद खिमकुमार विश्वकर्माले समाजमा पिछडिएर रहेको दलितको बारेमा गृहमन्त्रीले दिनुभएको आश्वासन पूरा नभएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयमा दलितको मुद्दा हेर्ने कक्षको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले फूलचोकी मिडियाले अश्लिल सामग्री प्रकाशन गरेर बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेकाले त्यसलाई खारेज गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले शिक्षामा देखिएको बेथिति र चर्को शुल्क कम गराउनुपर्ने बताउनुभयो । सांसद तारादेवी भट्टले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु के के विषयको हो, त्यो सार्वजनिक गरी फछ्र्योट गराउन माग गर्नुभयो ।

प्रकाशित मिति : 16:24