आज आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा र सम्मान गरी मनाइँदै
२१ वैशाख, काठमाडौँ । आज आमाको मुख हेर्ने दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदै छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।
प्रकाशित मिति : 08:44









