२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

जापानी नागरिकद्वारा विद्यालयमा अक्षयकोष स्थापना

१७ वैशाख, काठमाडाैँ । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गर्नुभएको छ । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा रु ८० हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो ।

सो रकम विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको शैक्षिक पठनपाठनमा खर्च गर्ने सहमतिअनुसार ओकेबाजेले अक्षयकोष स्थापना गरिदिनुभएको छ । दुर्गम र विकट क्षेत्रमा सञ्चालित यस विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्था देखेर अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोषदाता ओकेबाजले बताउनुभयो ।

ओकेबाजेले स्थापना गरेको अक्षयकोषबाट सबै विद्यार्थीलाई मिलाएर विभिन्न शैक्षिक सामग्री, कापी, कलम, झोला, छात्रवृत्ति वितरण गरिने प्रधानाध्यापक हुमबहादुर सुनारी बताउनुहुन्छ । यस विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । हाल १६० विद्यार्थी भर्ना भएका छन् भने भर्ना हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । गत वर्ष विद्यलायमा १८१ विद्यार्थी अध्ययनरत थिए ।

करीब दुई दशक पाल्पालाई कमर्थलो बनाएर ओकेबाजेले सामाजिक क्षेत्रमा तल्लीन भएर काम गरिरहनुभएको छ । उहाँले जापानका विभिन्न सङ्घसंस्था, व्यक्तिसँग सहकार्य र समन्वय गरी आर्थिक रकम जुटाएर शिक्षा, स्वास्थ्य, खानेपानी, विपन्नको आर्थिक उपचारलगायतका क्षेत्रमा ठूलो रकम खर्च गर्दै आउनुभएको छ ।

शैक्षिक सामग्री सहयोग

माथागढी गाउँपालिकाले मगर मातृभाषामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडा नं १ मा अवस्थित जाउपोखरा आधारभूत विद्यालय र नवजागृत प्राविमा अध्ययनरत ८३ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो ।

“मगर समुदायका बालबालिकालाई नियमित विद्यालयमा जाने बानी बसाल्न र कोही अतिविपन्न परिवारका बालबालिका रहेको हुँदा पठनपाठनमा सहयोग पुगोस् भनेर विभिन्न शैक्षिक सामग्री प्रदान गरेका हौँ”, उहाँले भन्नुभयो ।

झोला, सिसाकलम, किताब, कापीलगायतका विभिन्न शैक्षिक सामग्री पाएपछि यहाँका विद्यार्थी खुशी भएका छन् । मगर समुदायको बाक्लो बस्ती रहेको यस गाउँपालिका दुर्गम र विकट क्षेत्रमा पर्छ । शैक्षिक सामग्रीको अभावकै कारण केही बालबालिका नियमित विद्यालयमा जाने गरेको पाइँदैन । नियमित विद्यालय नजाने, बीचमै विद्यालय छाड्ने अतिविपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री पाएपछि पठनपाठनमा ठूलो राहत मिलेको छ ।

प्रकाशित मिति : 09:47