१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

प्रदेश ५ सरकारद्धारा यातायात विधेयक स्वीकृत गर्ने निर्णय

१५ वैशाख, रुपन्देही । प्रदेश नं ५ सरकारले सवारी यातायात तथा परिवहनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बुटवलमा बसेको बैठकले भौतिक पूर्वाधार विकास समितिको प्रस्तावमा प्रदेशको सवारी यातायात तथा परिवहनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।

विधेयकमा प्रदेशस्तरको यातायातसम्बन्धी नीति, ऐन नियम, सार्वजनिक यातायातको गुणस्तर, सवारी नवीकरण चालक अनुमतिपत्र नवीकरण, सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर, भाडादर, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

विधेयक पारित भएपछि चालक अनुमति पत्र वितरणमा कडाइ गरिने र कम्पनीमार्फत सवारी दर्ताको व्यवस्था गरीले उहाँले बताउनुभयो । सो विधेयक पारित भएपछि प्रदेश सरकालाई प्राधिकरण सञ्चालनको बाटो खुल्ने छ । प्रवक्ता चौधरीले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर ३० विद्युतीय बस चलाउने तयारी गरिएको जानकारीसमेत दिनुभयो ।

यातायात प्रणालीलाई व्यवस्थित गर्न सरकारले निजी कम्पनिसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारी तबरबाट यातायात सञ्चालन भएको छैन, छिट्टै प्राधिकरण बनाएर कार्यान्वयन गर्छौ ।”

यस्तै मन्त्रिपरिषद्को बैठकले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटालाइ कृषि निर्देशनालयमा तथा मन्त्रालयको सचिवमा बैकुण्ठ अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 18:56