१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

सार्वजनिक जग्गा अतिक्रमण रोक्न धापाखेलवासीकाे माग

१५ वैशाख, ललितपुर । धापाखेलवासीले सार्वजनिक जग्गा अतिक्रमण रोक्न महानगरपालिकासमक्ष माग गरेका छन् । आज हानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले महानगरपालिका–२४ (साविक धापाखेल गाबिस वडा नम्बर वडा नं ९) स्थित जग्गाहरु अतिक्रमण भइरहेकाले त्यसलाई रोक्न माग गरेका हुन् ।

साविक वडा ९ स्थित पर्ति जग्गामध्ये चार आना क्षेत्रफलको एउटा कित्ता रोयल गोर्खाज कम्पनीले केही वर्ष पहिले पर्खाल लगाएको उनीहरुले बताएका छन् । कम्पनीले उक्त जग्गा पछि अरुलाई नै विक्री गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

सार्वजनिक जग्गा संरक्षण समिति, धापाखेलका संयोजक वेदनाथ दाहालले महानगरले सक्रिय रुपमा लाग्दा मात्रै सार्वजनिक जग्गा अतिक्रमण रोक्न सक्ने बताउनुभयो । यस ठाउँमा सार्वजनिक जग्गालाई अर्काे कुनै जग्गासँग सट्टापटा गरी फिल्ड कामय गर्न खोजेको उहाँको आरोप छ ।

ज्ञापनपत्र बुझ्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार ३० प्रतिशत खाली जग्गा आवश्यक भए पनि महानगरभित्र चार प्रतिशतभन्दा कम मात्रै खाली जग्गा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग अहिले जति खाली जग्गा रहेको छ, त्यसलाई संरक्षण गर्न महानगरले सम्झौता गर्दैन ।”

स्थानीयवासीसँगै महानगरपालिका पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हरि दाहालले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरपालिकाले पर्याप्त काम गर्न नसकेकोे बताउनुभयो ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति मदनबहादुर अमात्यले सार्वजनिक जग्गाको संरक्षण गर्न सधैँ स्थानीयवासीसँग मिलेर लाग्ने बताउनुभयो । स्थानीयवासीले काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, ललितपुरलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित मिति : 18:31