फाेरमका मन्त्रीको राजिनामा तयार, प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गर्दै उपेन्द्र यादव
१५ वैशाख, काठमाडौँ । संघीय समाजवादी फाेरम पनि सत्ताबाट बाहिरिने तयारीमा लागेकाे छ । सरकार छाड्न पार्टी भित्रबाटै चर्काे दबाब आएपछि फाेरमका दुईमन्त्री र एक राज्यमन्त्रीको राजिनामा समेत तयार भएकाे छ । अहिले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन । स्वास्थ्यमा अध्यक्ष यादव मन्त्री छन भने डा सुरेन्द्र यादव राज्यमन्त्री रहेका छन । त्यस्तै सहरीविकास मन्त्रीमा माेहमद इस्तियाक राई रहेका छन ।
केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त राजिनामा बुझाउने तयारी उनीहरुकाे रहेकाे । संघीय समाजवादी फाेरमकाे अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विगतमा भएकाे सहमति कार्यान्वयन गर्न भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन । शनिबार पनि उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीसँग भेटगरी समझदारी कार्यान्वयन गर्न अनुराेध गरेका छन । साथमा सामूहिक राजिनामाकाे पत्र बाेकेर गएका यदवले प्रधानमन्त्रीलाई माग पूरा नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन ।

पछिल्लाे समय तराईमा आफ्नाे अस्तित्व बचाउनका लागि राजपा नजिक हुन खाेजेका यादवले पार्टी भन्दा बाहिरकाे दबाबमा सरकार नै छाड्ने तयारी गरेका हुन । यता शनिबार नै फाेरमका वरिष्ठ नेता अशाेक राईले पनि सरकार छाड्ने बताएका छन । संविधान संशाेधनसहितकाे राजनीतिक सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेकाे बताए । उनले अब सरकारसँग नभइ राजापासँग सहकार्य हुने संकेत गरे ।
प्रकाशित मिति : 13:44







