एमाले–माअोवादी एकता सहज तवरले हुन्छः प्रचण्ड
२१ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपा एमाले र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ ।
माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताउनु भएको हो ।
बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन बुझेका छौँ । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंग्याउन हामी लागिरहेका छौँ ।”
अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौँ । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौँ ।”
भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल भइरहेको भन्दै अध्यक्ष दाहालले कुनै पनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “चलखेलले एकता रोक्न सक्दैन, सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।”
अध्यक्ष दाहालले केन्द्रमा सहअध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।
प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १९:३३